काठमाडौं । आज तिहारको अन्तिम दिन भाइटीका । दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइन्छ ।
भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनी पूर्व र दाजुभाई पश्चिम फर्किएर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।तिहारको टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई तथा दाजुभाईले दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ ।
टीका लगाएपछि दाजुभाईले दिदीबहिनीलाई दान, दक्षिणा एवम् वस्त्र दिने परम्परा छ ।परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ ।
दिदीबहिनी नहुनेहरुले आज काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने चलन छ ।