विराटनगर । नेपाली काँग्रेस र एमाले मिलेर बनेको सरकारको बुधबार एक सय दिन पुरा भएको छ । सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनको प्रगति प्रतिबेदन नै सार्वजनिक गरे ।

ओली सरकारले सय दिन उपलव्धी मुलक भएको भनेर दाबी गरेपनि  प्रतिपक्षमा रहेको नेकपा (माओवादी केन्द्र)ले भने ओली सरकारको सय दिनप्रति कटाक्ष गरेको छ ।बुधबार विराटनगर एयरपोर्टमा सन्चारकर्मीसँग कुरा गर्दै केन्द्रका  बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले  ओली सरकारले कामै  गर्न नसके टिप्पणी गरेका छन् ।उनले ओली सरकारको लोकतान्त्रिक विकल्पबाटै अर्को सरकार बन्नेतिर जानुपर्ने बताएका छन् ।

वर्तमान राजनीतिक पार्टीले आफूलाई समीक्षा गरेर बदल्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । ‘हामी माओवादीले हिंजो पनि तुलनात्मक रुपमा राम्रो काम गरेका हौं । अझ पनि बदलिनुपर्छ भनेर काम गरिरहेका छौं,’ श्रेष्ठले भने । उनले बामपन्थी एकताको पक्षमा भएपनि तत्काल त्यो सम्भावना नरहेको उनले बताए ।

कम्युनिष्टहरुलाई मिलाउन चीनले भूमिका खेलिरहेको भन्ने कुरा छनि भन्ने पश्नमा उनले त्यो चर्चामा कुनै सत्यता नभएको दाबी गरे ।श्रेष्ठले सञ्चारकर्मीसँग भने,‘ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै छैन,‘दुईवटा प्रमुख दल मिलेर सरकार बनाउने कुराले सामान्य संसदीय पद्धती र परम्परालाई पनि पालना गरेको छैन र नेपालको सन्दर्भमा दुईवटा पार्टी मिलेर निरंकुशतातिर जाने संकेत भएको भनेर हामीले सुरुमै भनेका थियौं ।

अहिले त्यही दिशातिर सरकार गइरहेको छ,’ उनले भने, ‘अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ । हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौं । तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन । बरु हाम्रो सरकारको पालामा भएका भ्रष्टाचारका दोषिलाई सफाइ दिने काम भइरहेको छ ।’

  प्राकृतिक विपदमा तदारुकता देखाएन  

नेता श्रेष्ठले बाढी पहिरो र डुबानमा परेकाहरुको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले कुनै काम नगरेको बताए ।

‘यत्रो बाढी, पहिरो, डुबानको स्थिति भयो । त्यसले ठूलो धनजनको क्षति पनि भयो । त्यसमा तत्काल उद्धार, राहत र पुनःस्थापना, पुननिर्माणको योजना बनाउने काममा तदारुकता देखिएन । यो त सबै जनताले बुझेका छन् नि ।

त्यसकारण यो सरकारका बारेमा त्यति धेरै मेहनत गरेर समीक्षा गरिरहनुपर्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘यो सरकारले देश जनताको पक्षमा सकारात्मक काम गर्न सकेको छैन ।’

त्यसैगरि रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको विषयमा सोधेको प्रश्नमा श्रेष्ठले छानविन र अनुसन्धान भेदभावपूर्ण भएको आशय व्यक्त गरे । उनले भने,‘रवि लामिछाने पक्राउ पर्नु ठिक र बेठिक भन्ने कुरा होइन ।

राज्यले कसैलाई पनि विधि पुर्याएर अनुसन्धान गर्न सक्छ । हाम्रो कुरा अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भेदभावपूर्ण हुनुहुँदैन,’ श्रेष्ठले भने, ‘तर, अहिले सबैको टिप्पणी के हो भने भेदभाव भइरहेको देखिन्छ । त्यस्तै गरी प्रत्यक्ष सहकारीको ठगीसँग सम्बन्धीत भनेर आएको सत्तारुढ पार्टीकै नेताहरूलाई किन अनुसन्धान गर्ने काम गरिएन ?

किन उनीहरुलाई कानूनको दायरामा ल्याइएन भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ,।’नेता श्रेष्ठले भने,‘माओवादी सरकारमा हुँदा दोषि कसैलाई छोडिने छैन, छोड्नु हुँदैन,निर्दोष कसैलाई दुःख दिनु हुँदैन, जतिसुकै शक्तिशाली भएपनि दोषिलाई छोड्नु हुँदैन भन्ने नै हो,हामी त्यही पक्षमा छौ।’