काठमाडौँ । कक्षा ११ र १२ मा  २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन ।

त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा कक्षा ११ र १२ मा फेल भएका २०५६ सालदेखि र स्नातक तहमा फेल भएका २०५८ सालदेखिका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएको राष्ट्रिय परीक्षा बोर्डको सुचना मार्फत जनाइएको छ । 

 बोर्डले सूचना जारी गर्दै पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको हो । बोर्डले दिएको जानकारी अनुसार मंसिर २७ सम्म आवेदन फाराम बुझाउन सकिने छ  । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने,‘२०५६ देखि २०७७ सम्म रजिस्ट्रेसन गरेका विद्यार्थीले परीक्षा आवेदन फाराम भर्न पाउने, सबै विषयमा  फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने छन ।’

देशभरी कक्षा ११ र १२ मा फेल भएर पढाइ छाडेका विद्यार्थीको संख्या १४ लाख रहेको बोर्डले सुचनामा उल्लेख गरेको छ । श्र्माका अनुसार आवेदन फाराम भर्ने विद्यार्थी संख्याका आधारमा परीक्षा तालिका सार्वजनिक गरिनेछ ।  

अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण, अनुपस्थित वा अक्षराङ्कन (ग्रेडिङ) पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले अन्तिम एक पटकका लागि परीक्षामा सहभागी हुन पाउने अवसर दिन लागिएको बोर्डले जनाएको छ ।

सम्बन्धित विद्यालय÷क्याम्पसले आफ्ना विद्यार्थीहरूको परीक्षा आवेदन फाराम संकलन गरी बोर्डमा बुझाउन आग्रह गरिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि सबै मौकामा आवेदन दिन सक्नेछन ।

बोर्डले अतिरिक्त विषयमा परीक्षा दिन चाहने परीक्षार्थीले कक्षा ११ र १२ मा बढीमा सय÷सय गरी कुल दुई सय पूर्णाङ्कको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । एक संकायको विद्यार्थीले अर्को संकायका विषयमा समेत परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

पुराना विद्यार्थीको परीक्षा पुरानो पाठ्यक्रम अनुसार नै सञ्चालन हुने र पूर्णाङ्क समेत साविक बमोजिम नै हुने बोर्डले जनाएको छ ।त्यस्तै यसअघि त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणालीतर्फ २०५८ र सेमेस्टरतर्फ २०६९ को सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको थियो ।

शिक्षाध्यक्ष खड्ग केसीको अध्यक्षतामा असोज पहिलो साता बसेको बैठकले उक्त निर्णय गरेको हो । (बिभिन्न अनलाइनबाट संकलित समाचारबाट)