खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका स्थानीयबासीले देउसीभैलो खेलेर सङ्कलित रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् ।
लालीगुराँस टोल विकास समितिमा आबद्ध ६० घरका स्थानीयले भैपरी आउने विपत्तिका घटनामा परेकालाई तत्काल उद्धार तथा राहत उपलब्ध गर्ने÷गराउने उद्देश्यले सङ्कलित रु एक लाख दुई हजार रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरेका हुन् ।
आगामी दिनमा कम्तीमा पनि २५ लाखको कोष बनाउने गरी पहिलो चरणमा देउसीभैलाबाट सङ्कलित रकम राखेर कोष स्थापना गरिएको टोल विकास समितिका अध्यक्ष दिलकुमार राईले जानकारी दिइन् ।
‘विपद् आइपर्छ भनेर कसैले पनि बचत गरेर राखेका हुँदैनन्, परेको बेला सबैसँग पैसा हुन्छ भन्ने पनि छैन, आफूसँग बचत नहुँदा धेरै घरपरिवारले दुःख पाएका छन् । आगामी दिनमा त्यस्तो नहोस् भनेर विपद् व्यवस्थापन कोष स्थापना गरेका हौँ । घटनाको प्रकृति तथा पीडितको अवस्था हेरेर राहत तथा सापटी दिइनेछ’, उनले भनिन् ।
विपद् कोष स्थापना गर्ने भनेर तिहारमा देउसीभैलो कार्यक्रममा स्थानीयवासीले स्वतःस्फूर्त रूपमा दान गर्दा रु एक लाख दुई हजार रकम जम्मा भएको थियो । त्यसैमा क्रमिक रूपले थप्दै लानेगरी बोहोरीबोटमा जन्मिएर रोजगारी, अध्ययन तथा विभिन्न पेसा व्यवसाय सञ्चालन गर्न देशका विभिन्न भूभाग तथा विदेशमा रहेका स्थानीयवासीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष राईले जानकारी दिएकी छन् ।
रोजगारीको सिलसिलमा विभिन्न देशमा कार्यरत रहेका स्थानीयवासीलाई संयोजक तोकेर विपद् व्यवस्थापन कोषका लागि रकम सङ्कलन अभियान सुरु गरिएको छ । यसै अभियानअन्तर्गत भर्खरै स्लोभाकिया पुगेका स्थानीय जयकुमार राईको नेतृत्वमा सङ्कलन भएको रु १४ हजार पाँच सय कोषमा जम्मा भइसकेको समितिका कोषाध्यक्ष इन्द्रकला राईले जानकारी दिइन् ।
कोषमा जम्मा भएको रकमलाई वृद्धि गर्दै लैजान समितिभित्रका स्थानीयवासीलाई घुम्तीकोषका रूपमा पहिलो चरणमा रु ३० हजारसम्म ऋण दिने निर्णय गरिएको समितिका सचिव राजेन्द्र मगरले जानकारी दिए । ‘विपद् व्यवस्थापन कोषको ऋण लिने स्थानीयवासीले आम्दानीको स्रोत वृद्धि गर्ने कुनै न कुनै व्यवसाय सञ्चालन गर्नुपर्ने नियम बनाइएको छ ।
यसले स्थानीयवासीलाई आत्मनिर्भर हुने अवसर समेत मिल्छ’, सचिव मगरले भने, ‘ऋण लिएर तोकिएको समयमा नबुझाएको खण्डमा हर्जनासहित असुल गर्ने नियम बनाएका छौँ। सबै कुरा पहिले नै अवगत गराएर ऋण दिने निर्णय गरिएको छ ।’
बोहोरीबोटका स्थानीयवासीले यसअघिदेखि नै प्रत्येक घरबाट मासिक रु ३० सङ्कलन गरेर सामाजिक काम गर्दै आएका छन् । सामाजिक काममा खर्च भएर बँचेको रकम कोषमा जम्मा गरेर ऋणमा दिने गरिएको जनाइएको छ ।
‘अहिले स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा मासिक रूपमा सङ्कलन गरिने रु ३० मिसाउँदैनौ, यो छुट्टै कामका लागि उपयोग हुन्छ’, उनले भने, ‘सुरुमा मासिक रु १० सङ्कलन गथ्र्यौँ । अहिले मासिक रु ३० पुर्याइएको छ । त्यही कोषमा जम्मा भएको रकमबाट एउटा सामुदायिक भवनसमेत बनाएर सञ्चालनमा छ ।’
नौ घर मगर र ५१ घर राई परिवारको बसोबास रहेको बोहोरीबोट गाउँमा हुने हरेक काजभोज तथा सांस्कृतिक कार्यक्रम आपसी सहकार्यमा गर्ने गरिएको छ ।
गाउँमा हुने विवाह, छेवर, पास्नी, गुन्यूचोली तथा मृत्यु कार्यमा आयोजना गरिने भोजभतेरमा प्रयोग हुने भाँडाकुँडा, थालबटुका, डाडुपन्यू, पाल, साउण्डस्टिम, स्ट्रेचरलगायत सामग्री आफँले सङ्कलन गरेको रकमले खरिद गरेका छन् । रासस
ण्ण्ण्ण्ण्